काठमाडौं । काठमाडौंबाट गएको फोहोर बिसर्जन गरिएको नुवाकोटको सिसडोलमा दुर्गन्ध हटाउने उपाय र फोहोरले वातावरणमा परेको प्रभावको अध्ययन थालिएको छ । विज्ञहरुको एक टोली पुगेर यसबारे अध्ययन थालेको हो । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्रविधि संकाय प्रमुख वैज्ञानिक डा.रवीन्द्र ढकाल नेतृत्वको टोली सिसडोल पुगेर पानी र लिचेड को नमूना संकलन गरेको छ । सिसडोलबाट निस्किएको लिचेड, पानीको स्रोत र ग्याँसको परीक्षणका लागि नमूना संकलन गर्नुका साथै फोहोरको दुर्गन्ध हटाउने उपायबारे अध्ययन गर्ने योजना छ ।
यसअघि जेठ २० गते मेयर बालेन साह र उपमेयर सुनिता डंगोलले सिसडोल क्षेत्रको भ्रमण गरी एक हप्ताभित्र दुर्गन्ध हटाउने प्रतिबद्धता जनाएका थिए । दुर्गन्ध हटाउन जैविक तत्व प्रयोग गर्ने तयारी छ । दर्गन्ध हटाउने जैविक तत्व कति मात्रा प्रयोग गर्ने, कसरी प्रयोग गर्ने भन्नेबारे अध्ययन गर्ने तयारी छ । सिसडोलमा महानगरपालिकाले ‘पोस्ट क्लोजर’को तयारी अघि बढाएको छ । फोहोर फाल्ने ठाउँ नरहेपछि अब बञ्चरेडाँडामा फोहोर फाल्न थालिएको छ ।