काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सबै प्रकारका बालश्रम, बाध्यात्मक श्रम तथा मानव बेचबिखन पूर्ण रुपमा उन्मूलन गर्ने नेपालको प्रतिबद्धता रहेको बताएका छन् । स्वीट्जरल्यान्डको जेनेभामा जारी १ सय १०औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सबै प्रकारका बालश्रम सन् २०२५ सम्म उन्मूलन गर्ने लक्ष्यका साथ नेपाल सरकारले काम गरिरहेको जानकारी गराएका हुन् । उनले आप्रवासन सम्बन्धी विश्वव्यापी समझदारीपत्रको भावनाअनुसार नै नेपालले काम गरिरहेको स्मरण गराए ।
कोरोना महामारीका कारण परेको असर कम हुँदै जाँदा नेपालको अर्थव्यवस्था बिस्तारै सुधार हुँदै जाने क्रममा रहेको तर उपभोग्य वस्तुको मूल्य बढेकोले श्रमिकको जीवनस्तर तथा उद्योगमा समेत असर पारेको उनको भनाई छ । मन्त्री श्रेष्ठले नेपालले रोजगारी, सामाजिक सुरक्षा तथा औद्योगिक सुरक्षाको बारेमा गरिरहेको प्रयासबारे सम्मेलनलाई जानकारी गराए ।
नेपालले सन् २०१८ मा योगदानमा आधारित सामाजिक सुरक्षा योजना अगाडी बढाएको थियो । श्रमिक तथा उनीहरुको परिवारको कामसँग सम्बन्धित जोखिम न्यूनीकरण सम्बन्धमा सामाजिक सुरक्षा योजना महत्त्वपूर्ण कदम रहेको मन्त्री श्रेष्ठको भनाई छ ।