बुधबार पनि बन्चरे डाँडामा स्थानीयको अवरोध हटेन, फोहोरका गाडी फर्किए

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर विर्सन गर्न नुवाकोटको बन्चरे डाँडा साइट तयार भए पनि स्थानीयको अवरोधका कारण बुधबार समेत फोहोर लैजाने प्रयास सफल भएन । बञ्चरेडाँडामा बुधबार बिहान ६ बजेबाटै सडकमा स्थानीयले अवरोध गरेका थिए । अवरोध हटाउन प्रहरीले अश्रुग्यास हानेको थियो । तर, सफल हुन सकेन । सरकारले मंगलबारबाट स्थानीयको सहमतिबेगर बञ्चरेडाँडा डम्पिङ साइटमा काठमाडौंको फोहोर फाल्न सुरू गरेको थियो । प्रहरी र सशस्त्र परिचालन गरेर मंगलबार दिनभरिमा डेढ सय ट्रकभन्दा बढी फोहोर फालिएको थियो। तीस जनाभन्दा बढी स्थानीय पक्राउ परेका थिए ।

बुधबार फोहोर बोकेका ट्रक तथा टिपर आउने बाटेमा ढुंगा, मुढा र रूखका हांगा काटेर स्थानीयले अवरोध गरेका थिए । बुधबार समेत प्रहरीले केही स्थानीयलाई नियन्त्रणमा लिएको छ । प्रहरी गाउँमा घुसेपछि स्थानीयले डाँडा माथिबाट ढुंगामुडा गरेका थिए । डाँडामाथिबाट ढुंगामुढा गरेपछि प्रहरीले अश्रुग्यास हानेको थियो । दिनभरिको झडप र तनावपछि आखिरमा फोहोर लिएर गएका ट्रक तथा टिपरहरू डम्पिङ साइटसम्म नपुगि फर्किएका छन् ।

सहरी विकास मन्त्रालयले सिसडोल र बञ्चरेडाँडाका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई राखेर सोमबार बञ्चरेडाँडामा फोहोर फाल्ने सहमति गरेको थियो। सम्झौता हस्ताक्षर गर्दा स्थानीय बासिन्दालाई संलग्न गराइएको थिएन। आफूलाई सोध्दै नसोधी जनप्रतिनिधिहरूले गुपचुप सम्झौता गरेको भन्दै स्थानीयले मान्न अस्वीकार गरेका छन्।