काठमाडौं । एएफसी एसियन कप २०२३ को अन्तिम चरणको छनोट अन्तर्गत पहिलो खेलमा नेपाल जोर्डनसँग २–० गोल अन्तरले हारेको छ । समूह ए अन्तर्गत कुवेतको जाबिर अल अहमद स्टेडियममा बुधबार राति सम्पन्न खेलमा नेपालले दुवै गोल दोस्रो हाफमा खायो । जोर्डनले अन्तिम २१ मिनेटमा दुई गोल गर्दै महत्वपूर्ण तीन अंक जोड्यो । गोलकिपर दिप कार्कीले उत्कृष्ट प्रदर्शन गरे पनि नेपालले बराबरी समेत गर्न सकेन । दिपले पहिलो हाफमा पेनाल्टी बचाए ।
खेलमा नेपालले जोर्डनलाई दुई पेनाल्टीको अवसर दियो । खेलाडी प्रशिक्षक विवादले नियमित कप्तान किरणकुमार लिम्बुसहित ११ सिनियर खेलाडी टीम बाहिर राखेर प्रशिक्षकले नयाँ टीमसहित कुवेत पुगेका छन् । ४३औं मिनेटमा नेपालका विकास तामाङले मोहमद फैसल जारिकलाई फल गरेपछि जोर्डनले पेनाल्टी पाएको थियो ।
तर माउसा मोहमद सुलेमानको पेनाल्टी प्रहार नेपालका गोलकिपर दिप कार्कीले बचाए । ६९औं मिनेटमा अली इयाद ओलवानले गोल गर्दै जोर्डनलाई अग्रता दिलाए । दोस्रो हाफमा जोर्डनले अर्को पेनाल्टी पायो । तर यस पटक भने जोर्डनका हम्जा अलदरादेहले सजिलै गोल गरे ।