काठमाडौंको फोहोर व्यवस्थापनबारे शुक्रबार सर्वपक्षीय बैठक बस्दै

काठमाडौं । काठमाडौंको फोहोर व्यवस्थापन बारे शुक्रबार सर्वपक्षीय छलफल हुने भएको छ । काठमाडौं महानगरपालिकासहित उपत्यकाका स्थानीय तह, धादिङको धुनिवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका प्रतिनिधिसँगै स्थानीय वासिन्दासँग शहरी विकास मन्त्रालयले छलफल गर्न लागेको हो । शहरी विकास मन्त्री रामकुमारी झाँक्री समेत सहभागी हुने बैठकमा मन्त्रालयका सचिव, महाशाखा प्रमुख समेत बस्ने छन् ।

गत सोमबार शहरी विकास मन्त्रालय, उपत्यकाका स्थानीय तहका जनप्रतिनिधि र बञ्चरेडाँडा क्षेत्र पर्ने धादिङको धुनीवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका प्रतिनिधिबीच सहमति भएको थियो । तर उक्त सहमतिमा स्थानीय वासिन्दाले चित्त नबुझाएपछि फोहोर लिएर गएका सवारीलाई रोकिरहेका छन् । फोहोर बोकेको गाडी रोकी अवरोध गर्दा प्रहरीले पक्राउ गरेका बञ्चरेडाँडाका स्थानीयलाई समेत प्रहरीले बिहीबार नै छाडेको छ ।