काठमाडौं । अमेरिकी सेनाको प्यासिफिक कमान्डका एक उच्च कमान्डर जनरल चार्ल्स ए फ्लिन नेपाल भ्रमणमा आएका छन् । अमेरिकी सेनाको प्यासिफिक कमान्डिङ जनरल चार्ल्स ए फ्लिन नयाँदिल्ली हुँदै बिहीवार काठमाडौं आएका हुन् । उनी चार दिने भ्रमणमा सिलसिलामा आएका हुन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति शर्मासहित विभिन्न उच्च अधिकारीलाई भेट्ने कार्यक्रम छ । प्रधानसेनापति प्रभुराम शर्माले आगामी असार १३ गतेदेखि १७ गतेसम्म अमेरिकाको औपचारिक भ्रमण गर्नु अगाडी अमेरिकी सेनाका उच्च कमाण्डर नेपाल आएका हुन् ।
नेपाली सेनाले जनरल फ्लिनको भ्रमणलाई सद्भावना भ्रमण भनेको छ । यो भ्रमणलाई नेपाल अमेरिका कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ औँ वार्षिकोत्सवको अवसर पारेर दुवै देशबाट भइरहेका उच्चस्तरीय भ्रमणहरूको निरन्तरताका रूपमा हेरिएको छ। उनलाई सैनिक मुख्यालय भद्रकालीमा गार्ड अफ अनर दिइने छ । शनिवार बिहान जेनरल फ्लिन सगरमाथा आधार शिविरको भ्रमणमा जानेछन् ।