काठमाडौं । अमेरिकाको टेक्सासमा जारी नेपाल, अमेरिका र ओमान सम्मिलित क्रिकेट विश्वकप लिग टुमा नेपालले घरेलु टोली अमेरिकाको सामना गर्दैछ । खेल पर्लल्याण्डस्थित मोसा क्रिकेट मैदानमा नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ । शृंखलामा दुवैले एक एक खेल खेलिसकेका छन् । नेपाल पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको छ ।
अमेरिकाले पहिलो खेलमा ओमानलाई हराएको छ । लिग टु मा नेपाल र अमेरिका खेल्न लागेको यो तेस्रो शृंखला हो । यसअघि यी दुई टोलीले लिग २ मै चार खेल खेलिसकेका छन् । जसमा नेपाल अघि छ । नेपालले ३ खेल जित्दा अमेरिकाले १ खेल जितेको छ ।
नेपाल लिग टू अन्तर्गत नै पछिल्लो शृंखलामा अमेरिकासँग २०२१ सेप्टेम्बरमा ओमानमा खेलेको पछिल्लो खेलमा ६ विकेटले पराजित भएको थियो । उक्त खेलमा नेपालले दिएको १७५ रनको लक्ष्य अमेरिका ३० ओभरभित्र पूरा गर्दा स्टेभेन टेलरले ९२ र मोनाक पटेलले अविजित ३८ रन बनाएका थिए । त्यस खेल खेलेका कुशल र आसिफसहित ९ खेलाडी अहिले पनि अमेरिका गएको नेपाली टिममा छन् ।
सन् २०२० मा नेपालमै भएको शृंखलामा भने नेपालले अमेरिकालाई दुवै खेलमा पराजित गरेको थियो । दोस्रो खेलमा नेपालले अमेरिकालाई ३५ रनमै अलआउट गर्दै कीर्तिमानसमेत बनाएको थियो । एक दिवसीय अन्तर्राष्ट्रिय कुनै पनि टिमले बनाएको यो संयुक्त रुपमा सबैभन्दा कम स्कोर थियो ।