नुवाकोटमा एक व्यक्ति आठ घण्टासम्म प्रसारण लाइनको तारमा चढेपछि..

नुवाकोट । नुवाकोटको ककनी गाउँपालिकामा त्रिशुली थ्री ए को प्रसारण लाइनमा चढेका व्यक्तिलाई करिब ८ घण्टापछि उद्धार गरिएको छ । नेपाली सेनाको रेञ्जर गणको उद्धार टोलीले उनलाई प्रसारण लाइनमै नियन्त्रणमा लिएर भुइँमा झारेको हो ।

शनिबार विहान करिब ११ बजे ककनी गाउँपालिका ७ स्थित त्रिशुली–मातातीर्थ प्रशारण लाइनमा चढेका बेलकोटगढी नगरपालिका-१२ का माइला विक दिनभर प्रसारण लाइनको तारमा झुण्डिएर बसेका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय वासिन्दाले उनलाई प्रसारण लाइनबाट ओराल्ने कोशिस गर्दा पनि असफल भएका थिए । साढे ६ बजेतिर नेपाली सेनाको उद्धार टोली पुगेपछि उनलाई भुइँमा झारिएको नुवाकोट प्रहरीले जनाएको छ ।

नेपाली सेनाको उद्धार टोलीले इक्वीपमेन्टसहित पोलमा चढेर ती व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको हो । प्रसारण लाइनमा चढेका विक दिनभर तारम झुण्डिएर बस्दा त्रिशुली थ्री ए र यस नजिकका अरु साना जलविद्युत गृह बन्द गरिएको थियो । प्रशारण लाइनमा विद्युत प्रवाह गर्दा दुर्घटना हुने जोखिम भएका कारण करिब ८ घण्टा विद्युत प्रशारण बन्द गरिएको थियो ।