काठमाडौं\एजेन्सी । भारतमा केही नेताहरुले पैगम्बर मोहम्मदबारे दिएको विवादास्पद बयानपछि विश्वभर भारतको आलोचना भइरहेको छ । मुस्लिम धर्मावलम्बी र यसलाई मान्ने मुलुकमा भारत विरोधी प्रदर्शन भएका छन् । यस्तै प्रदर्शनमा भाग लिएका कुवेतमा काम गरिरहेका विदेशी नागरिकलाई भने समस्या सिर्जना भएको छ । कुवेतले प्रदर्शनमा भाग लिनेहरुलाई नियन्त्रणमा लिई देश निकाला गर्ने निर्णया गरेको छ । इकोनोमिक्स टाइम्सका अनुसार गत शुक्रबार नमाज लगत्तै केही मानिसहरुले प्रदर्शन गरेका थिए ।
कुवेत सरकारले विदेशी कामदारबारे नयाँ निर्णय गर्दै जसजसले प्रदर्शनमा भाग लिएका थिए, उनीहरुलाई सम्बन्धित मुलुकमै फर्काइने उल्लेख रहेको समाचारमा जनाइएको छ । सरकारले सबै प्रवासी नागरिकलाई समान कानून आकर्षित हुने समेत स्पष्ट पारेको छ ।
इश्लामिक मुलुकहरुमा विदेशी नागरिकले प्रदर्शनमा भाग लिन पाउँदैनन् । ती मुलुकमा प्रदर्शन गर्नु गम्भीर अपराध मानिन्छ । प्रदर्शन गर्नेमा पाकिस्तानी, बंगलादेशी, भारतीय र अन्य केही अरबी मुलुकका नागरिक रहेको बताइएको छ । यसरी देश निकाला गरिएका व्यक्ति पुनः सो मुलुक जान पाउँदैनन् ।