काठमाडौं । संघीय संसद भवनको बुधबार शिलान्यास हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भवनको शिलान्यास गर्दैछन् ।
सिंहदरबारस्थित पुतली बगैचामा करीव ८ अर्ब रुपैयाँ लागतमा यो भवन बन्न लागेको हो । सहरी विकास मन्त्रालयका अनुसार भवनको पूर्वतयारीको काम सकिएको छ ।
अब निर्माणले गति लिने छ । सरकारले पुनः एकपटक सरकारी भवनलाई सिंहदरबार भित्रै खुम्च्याइदिएको छ ।
यस भवन भित्र विभिन्न राजनीतिक दलको संसदीय दलको कार्यालय रहने छन् ।
प्रतिनिधि सभा र राष्ट्रिय सभाका लागि दुई ठूला अत्याधुनिक हल निर्माण गरिनेछन् ।
अतिविशिष्ट व्यक्ति र अन्य व्यक्तिका लागि छुट्टाछुट्टै प्रवेशद्धारको व्यवस्था गर्न लागिएको छ । यो भवन आगामी तीन वर्ष भित्र निर्माण सम्पन्न हुने भएको छ ।
संसदको आफ्नो भवन नहुँदा अहिले नयाँ बानेश्वरस्थित सम्मेलन केन्द्र भाडामा लिएर काम चलाउनु परेको छ ।
अब संसद मातहतका समितिको हल र कार्यालयसमेत यसै भवन परिसरमा निर्माण हुने भएका छन् ।
वगैचा, चौर र वाटर फाउन्टेनसहित आकर्षक भवन निर्माणको योजना रहेको शहरी विकास मन्त्रालयले जनाएको छ ।