काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत अमेरिकामा जारी त्रिकोणात्मक सिरिजमा नेपाल र ओमान आज भिड्दैछन् । शृंखलामा नेपालले आफ्नो तेस्रो खेल खेल्दैछ । लिग टू मा सहभागी ७ टिमले कुल ३६ खेल खेल्न पाउने प्रावधान अनुसार ओमानले भने आज अन्तिम खेल खेल्दैछ । ३५ खेल खेलिसकेको ओमान ४४ अंकसहित अंकतालिकामा शीर्ष स्थानमा छ । अर्को वर्ष हुने एक दिवशीय विश्वकपको ग्लोबल छनोटमा ओमानले स्थान बनाइसकेको छ । नेपाल भने आधा खेल पनि खेलेको छैन ।
ओमानसँगको खेल लिग टू मा नेपालको लागि १५औं खेल हुनेछ । नेपाल १४ अंकसहित छैटौं स्थानमा छ । जारी शृंखलामा नेपाल पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको थियो । त्यसपछि घरेलु टोली अमेरिकासँगको खेल रोमाञ्चक रुपमा बराबरी भएको थियो । लिग टू मा अहिलेसम्म खेलेको ५ खेलमा ओमानले ४ खेल जित्दा नेपालले जम्मा १ खेल मात्र जितेको छ । खेल नेपाली समयअनुसार राति सवा ९ बजेपछि सुरु हुनेछ ।