काठमाडौं । परराष्ट्र मन्त्री नारायण खड्काले नेपाल कुनै खाले सैन्य गठबन्धनमा सहभागी नहुने बताएका छन् । मंगलबार प्रतिनिधि सभामा सांसदले सोधेका प्रश्नको जवाफ दिँदै उनले सैन्य गठबन्धनमा नेपाल जाने विषय हल्ला मात्रै भएको बताए। ‘यस्ता संसयपूर्ण कुरा कहिलेकाहीँ आउने गर्छन्। नेपाल कुनै खाले सैन्य गठबन्धनमा जाँदैन,’ उनले भने, ‘के का लागि सैन्य गठबन्धन गर्ने? यो आवश्यक नै छैन।’ उनले हल्लाका पछि नलाग्न पनि सांसदहरूलाई आग्रह गरे ।
‘हल्लाका पछि नजाऔं,’ उनले भने, ‘अमेरिकी सेनाको भ्रमण र भेटघाट सैन्य गठबन्धनमा लाने हो कि भनेर आएका छन्, त्यस्तो होइन। स्टेट पार्टनरसीप प्रोग्राम पनि अस्थायी हो।’ उनले मानविय र प्राकृतिक प्रकोपका बेला काम गर्न, स्टेट पार्टनसीप प्रोग्राम आवश्यक हुने पनि बताए। उनले देश हितविपरीत सरकारले कुनै पनि सम्झौता नगर्ने बताए । ‘देश हितमा नहुने कुरा कल्पना पनि गर्न सकिन्न। निराधार कुरा आएका छन्। ढुक्क हुन म निवेदन गर्न चाहन्छु,’ उनले भने, ‘देश हितलाई प्रवर्द्धन गर्न काम गर्छौं, कतै ढल्कने कुरा छैन।’