आज पनि उपत्यका र आसपासको क्षेत्रमा भारी वर्षा, नदीहरुमा बढ्यो बहाव

काठमाडौं । काठमाडौं उपत्यका र यस आसपासका जिल्लामा आज पनि भारी वर्षा भएको छ । काठमाडौं, काभ्रे, मकवानपुर, सिन्धुली, गोरखा र आसपासको क्षेत्रमा राती मेघ गर्जनसहित ठूलो पानी परेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी सूचना केन्द्रले सूचना निकाल्दै सतर्क रहन भनेको छ । बागमतीका सहायक नदी मनोहरा, हनुमन्ते, विष्णुमती लगायतको बहाव सतर्कता नजिक पुगेपछि केन्द्रले सूचना निकालेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार ललितपुरको खोकनामा जलसतहले सतर्कताको तह पारेको र बढ्दो क्रममा रहेको जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार मकवानपुरको भोर्लेनी स्टेसनमा पनि भारी वर्षा मापन भएको छ । त्यहाँको वर्षा खतराको तहसम्म पुगेको बाढी पूर्वसूचना केन्द्रले जनाएको छ । मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानहरुमा मेघ गर्जन,चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा भारी वर्षाको पनि सम्भावना छ । उक्त प्रदेशहरूका पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको जनाएको छ । नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन÷यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध पनि गरेको छ।