काठमाडौं । सिनियर खेलाडीसँग सामान्य विषयमा भएको विवादलाई उग्र रुप दिएका नेपाली टोलीका मूख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीले ९ जना सिनियर खेलाडीलाई टीम बाहिर राख्दै कुवेत पुगेका थिए । तर, तीन वटै खेलमा नेपालले खराब प्रदर्शन गर्दै प्रतियोगितामा लज्जास्पद हार बेहोरेसँगै प्रशिक्षक फेल भएका छन् । एएफसी एसियन कप २०२३ अन्तर्गत तेस्रो चरणमा नेपालले सबै खेलमा खराब प्रदर्शन गर्यो । समूह ‘ए’ मा रहेको नेपाल लगातार तेस्रो खेलमा पराजित हुँदै पुछारमा रहेको छ ।
बुधबार विहान कुवेत सिटीमा सकिएको खेलमा नेपालमाथि इन्डोनेसियाले ७–० गोलको फराकिलो अन्तरको जित निकाल्यो । नेपालविरुद्ध इन्डोनेसियाले पहिलो हाफमा दुई गोल गर्दा दोस्रो हाफमा पाँच गोल थपेको थियो। इन्डोनेसियाका लागि मोहमद मिसजले छैटौं र विटन सुलेमानले ४३ मिनेटमा गोल गरेका थिए।
दोस्रो हाफमा नेपालमाथि पुरै दबाब राखेको इन्डोनेसियाका लागि अर्यन्तोले ५४ मिनेटमा तेस्रो गोल र सदिल रामदानीले ५५ मिनेटमा चौथो गोल गरे। ८० मिनेटमा इल्कन बग्गोटले पाँचौ गोल गर्दा ८१ मिनेटमा सुलेमानले टिमका लागि छैटौं र व्यक्तिगत दोस्रो गोल गरे। ९० मिनेटमा फर्डिनालले इन्डोनेसियाका लागि सातौं गोल गरे।