काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले एक अर्ब दुई करोड रुपैयाँ बराबरको सेतो हेरोइनसहित सात अफ्रिकन महिलालाई पक्राउ गरेको छ । बिहीवार पत्रकार सम्मेलन गर्दै गएको जेठ २६ देखि ३१ गते एक हप्ताको अवधिमा ५१ किलो सेतो हेरोइनसहित सात जना अफ्रिकी महिलालाई पक्राउ गरेको जानकारी गराएको हो । लागुऔषध नियन्त्रण ब्युरो कार्यालय प्रमुख जीवनकुमार श्रेष्ठका अनुसार नेपाललाई ट्रान्जिट बनाएर भारत लगायतका देशमा कारोबार गर्ने उद्देश्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी लागुऔषध कारोबार गर्नेहरू पक्राउ परेका हुन् ।
उनका अनुसार विगतमा पनि लागुऔषध कारोबारीहरू पक्राउ गरिएको आधारमा निगरानी राख्दै जाँदा ५१ केजी हेरोइन फेला परेको हो । उनका अनुसार बरामद गरिएको ५१ केजी हेरोइन अहिलको बजार मूल्यअनुसार एक अर्ब दुई करोड रुपैयाँ बराबार हुन आउँछ । पक्राउ परेकाहरु विभिन्न मितिमा फ्लाई दुबईको विमानबाट नेपाल आएका थिए । प्रहरीले यो समूहलाई नियन्त्रणमा लिन त्रिभुवन विमानस्थल र ठमेल क्षेत्रमा सक्रियता बढाएर सात दिनभित्रमा सफल भएको हो । पक्राउ परेकाहरू मध्ये दुई जना नेपाल आउजाउ गरिरहने गरेका र पाँच जना पहिलो पटक नेपाल आएको अनुसन्धानबाट पत्ता लागेको छ ।