नदीहरुमा पानीको वहाव बढ्दै, कुनमा कति जोखिम ?

काठमाडौं । अविरल वर्षाका कारण देशका केही नदीमा आइतबार समेत पानीको बहाव उल्लेख्य बढ्ने भएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आइतबार कोशी, तमोर, सुनकोशी, नारायणी, मर्स्याङ्दी, कन्काई, कमला, बागमती, पूर्वी राप्तीलगायत नदीहरूको बहाव उल्लेख्य बढ्नेछ। यी नदीहरूमा बहाव सतर्कता तह आसपास पुग्ने पूर्वानुमान छ। अरू प्रमुख नदीहरूमा बहाव सतर्कता तहभन्दा तलै रहने जनाइएको छ।

आज बिहानको मापन अनुसार कोशीको सहायक नदी तमोरको त्रिवेणीमा जलसतह सतर्कता तह आसपास रहेको र हाल बढ्दो क्रममा छ। कोशीकै सहायक नदी सुनकोशी हम्पचुवारमा पनि बहाव उल्ल्खे बढेर सतर्कता तह आसपास पुगेको छ।

महाशाखाले आज पाँचथर, ताप्लेजुङ, संखुवासभा, झापा, मोरङ, सुनसरी, इलाम, यस्तै मधेश प्रदेशको सप्तरी, सिरहा, धनुषा, बागमती प्रदेशको सिन्धुली, गण्डकी प्रदेशको गोरखा, लमजुङ र कास्की आसपास भइ बहने ससाना नदीहरूमा बहाव बढ्ने र केही आकस्मिक बहाव हुनसक्ने पूर्वानुमान गरेको छ। नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।