दाङ । दाङको तुलसीपुरमा सडकको नयाँ ट्र्याक खन्ने क्रममा गाडेको अवस्थामा एक कसौँडी पुराना चाँदीका सिक्का भेटिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ४ सिमराटोलको खेत हुँदै आँखा अस्पतालसम्मको नयाँ ट्र्याक खोल्ने क्रममा डोजरका चालकले गत बुधवार गाडेको अवस्थामा एक कसौँडी प्राचीन सिक्का फेला पारेका हुन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखतबहादुर शाहीका अनुसार ५ सय ३७ वटा सिक्का फेला परेको छ । जसमा ७६ वटा भारतीय र ४ सय ६१ वटा सिक्कामा श्री ३ लेखिएको छ ।
फेला परेका सबै प्राचीन मुद्राहरु डोजरका चालक सुवासचन्द्र चौधरीले आफ्नो घरमा लागेर राखेको र अर्का चालक राजन खड्काले भागबन्डा नमिले पछि त्यो कुरा जग्गा धनी शोभा भण्डारीलाई भनेपछि गाडेको धन फेला परेको कुरा सार्वजनिक भएको हो । प्रहरी निरीक्षक शाहीका अनुसार चौधरीले ती सिक्काहरु घरमा लगेर धातुको कसौँडीको भाँडोबाट निकालेर छुट्टै एउटा पोलेथिनमा राखेको अवस्थामा फेला परेको हो । यी सबै सिक्काहरु झन्डै साढे दुई सय वर्ष पहिलेका हुन्।