रोकिएन् शेयर बजारको ओरालो यात्रा, उच्च अंकले घट्यो नेप्से

काठमाडौं । नेपाली शेयर बजार निरन्तर घट्दो क्रममा रहेको छ । बजेटपछि लगातार नेप्से परिसूचक घट्न थालेपछि लगानीकर्तामा निराशा छाएको छ।

लगानीकर्ता अन्योलमा देखिएका छन् । साना लगानीकर्ता बजारमा त्यति खुल्ल सकेका छैनन्।

बजार निरन्तर घट्न थालेपछि लगानी नै डुब्ने चिन्तामा उनीहरु रहेको देखिन्छ। सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याएपछि बढ्ने आशा गरेको शेयर बजार लगातार ओरालो लागेको लाग्दै आएको छ ।

लगानीकर्ताले बजारप्रति विश्वस्त हुने आधार नभेट्दा बजार ओरालो गतिमा नै देखिएको छ।

अहिले उनीहरू मौद्रिक नीतिको पर्खाइमा देखिन्छन्। मौद्रिक नीतिमार्फत पनि शेयर धितोमा झनै कडाइ गर्ने संकेत देखिएकाले विश्वस्त हुने आधार भने भेटिएको छैन् ।

साताको कारोबारको दोस्रोदिन सोमवार नेप्से ४९.३१ अंकले घटेर १८८४.८१ विन्दुमा आइपुगेको छ ।

यसदिन २३० कम्पनीको १ अर्ब ७५ करोड ६ लाख १७१ रुपैयाँ बराबरको ६१ लाख ८६ हजार ९४१कित्ता शेयर किनबेच भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ ।

आइतवार १ अर्ब १३ करोड ४० लाख ९१ हजार २१२ रुपैयाँ बराबरको बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ उपसमूहहरूमध्ये सबैको मूल्य घटेको छ। तीमध्ये पनि सबैभन्दा धेरै हाइड्रोपावरको ४.२८ प्रतिशत र विकास बैंकको ४.१३ प्रतिशतले घटेको छ।

कारोबार रकमको आधारमा आज सबैभन्दा धेरै प्रभु बैंकको संस्थापक शेयरको ११ करोड ८३ लाख २० हजार रुपैयाँको कारोबार भएको छ।

यसपछि एनटिसीको १० करोड ९२ लाख २६ हजार रुपैयाँ, हिमालयन डिस्टिलरीको ५ करोड ७३ लाख ५५ हजार रुपैयाँ, एनआइसी एसिया बैंकको ४ करोड ३५ लाख ७३ हजार रुपैयाँ र नबिल बैंकको ४ करोड ७ लाख ४४ हजार रुपैयाँको कारोबार भएको छ।

दुुइ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

आज आँधिखोला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ७२१.९० रुपैयाँ पुगेको छ भने सिवाइसी लघुवित्तको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ५००.३० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार तेह्रथुुम पावर कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।