ग्यासमा दोहोरो मूल्य कहिलेबाट ?

काठमाडौं । सरकारले खाना पकाउने ग्यासमा उच्च घाटा बेहोरिरहेको छ । जसका कारण अन्य पेट्रोलियम पदार्थको मूल्य बढाउँदा समेत नेपाल आयल निगमलाई उच्च घाटा छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पुनः एक पटक ग्यासमा दोहोरो मूल्य लागु गर्ने विषय बहसमा ल्याएको छ । मन्त्रालयका सचिव गणेश प्रसाद पाण्डेयले अर्थमन्त्रालयले सरकारले यस्तो जानकारी गराएका हुन् । उनका अनुसार सरकारको नीति पेट्रोलियम पदार्थमा घाटा नबेहोर्ने रहेको छ । सोहीकारण निगमले मूल्य बढाएको हो ।

नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनलाई २२ अर्ब रूपैयाँ बुझाउन बाँकी छ । आइओसीले असार २ गते पठाएको मूल्यका आधारमा निगमले आइतबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल लिटरमा २१ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा २७ रूपैयाँ बढाएको थियो। खाना पकाउने ग्यासमा मूल्य बढेको छैन । ग्यासमा तत्काल मूल्य नबढ्ने तर दोहोरो मूल्य लागु गर्ने तयारीमा सरकार जुटेको उनले जानकारी दिए ।

आयल निगमको ६० प्रतिशत घाटा एलपी ग्यासमा भएको भन्दै नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशकको संयोजकत्वमा विज्ञ सदस्य सहितको समिति गठन भएको छ। समितिले द्रुत गतिमा अध्ययन गरिरहेको छ । त्यसको प्रतिवेदन आएपछि ग्यासको दोहोरो मूल्य कायम हुनेछ । यसअघि पनि सरकारले पहिला रातो र हरियो सिलिन्डरको लागु गर्ने बताएका थिए । त्यसपछि व्यावसायिक प्रयोजनका लागि लागत मूल्य र घरायसी प्रयोजनमा सहुलियत लागू हुने भएको छ । एलपी ग्यासको भाउ भने एक हजार ८ सय रूपैयाँ छ।