वैदेशिक व्यापार करीव २० खर्ब, उच्च व्यापार घाटाले समस्यामा अर्थतन्त्र

काठमाडौं । चालु आर्थिक वर्ष २०७८\७९ को ११ औं महिनासम्म नेपालको वैदेशिक व्यापार करीव २० खर्ब पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार जेठ मसान्तसम्म १९ खर्ब ४९ अर्ब ६ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । यो गतवर्ष यसै अवधिको तुलनामा २९.५ प्रतिशत बढी हो । गत वर्ष ११ महिनामा १५ खर्ब ४ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो । यस अवधिमा १७ खर्ब ६३ अर्ब २२ करोड रुपैयाँको आयात भएको छ । निर्यातः १ खर्ब ८५ अर्ब ८३ करोड रुपैयाँको भएको छ ।

यसबाट मुलुकको व्यापारघाटा १५ खर्ब ७७ अर्ब रुपैयाँ कायम भएको भन्सार विभागले जानकारी दिएको छ । गत वर्ष यसै अवधिमा व्यापार घाटा १२ खर्ब ६२ अर्ब रुपैयाँको थियो । यो वर्ष १७ खर्ब ६३ अर्बको आयात भएकोमा गत वर्षको यसै अवधिको तुलनामा २७.५ प्रतिशत वृद्धि भएको छ । गत आवको ११ महिनामा १३ खर्ब ८३ अर्ब रुपैयाँको आयात भएको थियो । निर्यातको वृद्धिदर भने ५३.३ प्रतिशत रहेको छ ।

गत वर्षको यसै अवधिमा निर्यात व्यापार १ खर्ब २१ अर्ब रुपैयाँ रहेको छ । यस वर्ष वैदेशिक व्यापारमा आयातको हिस्सा ९०.४७ प्रतिशत हुँदा निर्यात ९.५३ प्रतिशत रहेको छ । ११औं महिनासम्म सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात भएको छ । यसका लागि मुलुकको ३ खर्ब ४० अर्ब रुपैयाँ विदेशिएको छ ।

फलाम तथा स्टिलको आयातमा १ खर्ब ५३ अर्ब रुपैयाँ बाहिरिएको छ । यस्ता वस्तुको निर्यातबाट भने मात्र २ अर्ब ७३ करोड रुपैयाँ प्राप्त भएको छ । १ खर्ब १३ अर्बको विद्युतीय सामग्रीको आयात हुँदा ९३ अर्ब रुपैयाँ बराबरको सवारी साधन र यसको पार्टपुर्जा आयात भएको छ ।