काठमाडौं । लेवनानको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले लेवनानका प्रधानमन्त्री नाजीव आदमी मिकातीसँग शिष्टाचार भेट गरेका छन् । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार भेटमा लेवनानको शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकको भूमिका, नेपाल र लेवनानबीचको सैनिक सम्बन्ध तथा दुई राष्ट्रबीच रहिआएको पारस्परिक सम्बन्ध एवम् हितका विषयमा छलफल भएको छ।
लेवनान भ्रमणमा रहनुभएका प्रधानसेनापति शर्माले त्यहाँका रक्षामन्त्री माउरिस स्लिम, सभामुख नाबी बेरी र त्यहाँको आर्मी फोर्सका प्रमुख जोसेफ खलिल औन सँगसमेत शिष्टाचार भेट गरेका छन् । असार ४ गते लेवनान प्रस्थान गरेका प्रधानसेनापति शर्मा लेवनानबाटै असार १३ गते अमेरिका जाने कार्यक्रम छ । अमेरिका भ्रमण सकेर शर्मा असार १९ गते स्वदेश फिर्ता हुनेछन् ।