रामायण सर्किटमा हिँडेको रेल बिहीबार जनकपुर आउँदै

काठमाडौं । नेपाल र भारतको संयुक्त पर्यटकीय अभियान रामायण सर्किटमा अब नियमित रेल चल्ने भएको छ । भारतीय रेल बिहीबार नेपालको धनुषाको जनकपुरधाम आउने भएको हो । ‘भारत गौरव पर्यटक रेल’ नाम दिइएको रेल भारतीय पर्यटक बोकेर मंगलबार साँझ भारतीय समय अनुसार साँझ साढे ५ बजे नयाँ दिल्लीको सफदरजंग रेल्वे स्टेशनबाट प्रस्थान गरेको छ । सो रेल भारतको अयोध्या, नन्दीग्राम हुँदै बिहीबार जनकपुरधाम आउने छ ।

जनकपुरधामबाट सीतामढी, बनारस, प्रयागराज, चित्रकुट, पञ्चवटी, नसिका, हम्पी, रामेश्वरम, काँचिपुरम, भद्राचलम हुँदै उक्त रेल पुनः दिल्ली फर्किने छ । भारतीय राजदूतावासको समन्वयमा ‘भारत गौरव पर्यटक रेल’मा करिब ५०० भारतीय पर्यटक जनकपुर आउने छन् । ती पर्यटकले जनकपुरधामका विभिन्न धार्मिकस्थलको भ्रमण गर्ने कार्यक्रम छ ।

भारतीय राजदूतावासका अनुसार सो रेलको प्रत्येक डिब्बामा भारतीय स्मारक, नृत्य, परिकार, पोशाक, पर्व, वनस्पति तथा जीवजन्तु, योग, लोककलाजस्ता भारतको कला, संस्कृति, परम्परा, सम्पदालगायत झल्को देख्न पाइन्छ ।