काठमाडौं । सेयर लगानीकर्ताको आन्दोलनलाई सर्मथन जनाउन काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) साह आन्दोलन स्थल पुगेका छन् । मेयर साहले बुधबार अनसनरत तिलक कोइरालालाई भेटेर आफ्नो तर्फबाट आन्दोलनमा समर्थन रहेको बताएका हुन् । साहले अनसनकर्ता कोइरालालाई लगानीकर्ताको माग सम्बोधन गर्न आफूले सक्ने पहल गर्ने बाचा पनि गरे ।
‘हाम्रो तर्फबाट पूर्ण समर्थन छ,’ मेयर शाहले भने, ‘के गर्न सक्छौं आफ्नोतर्फबाट पहल गर्छौं ।’ मेयर साहले अर्थतन्त्रको प्रभाव हेरेर मात्रै नीति नियम तर्जुमा गर्नुपर्नेमा जोड दिए । नयाँ नियम ल्याउँदा त्यसले अर्थतन्त्रमा कस्तो प्रभाव पर्छ भन्ने कुरा पनि विचार गर्नुपर्ने उनले बताए । अहिलेको लगानीकर्ताको आन्दोलनलाई राष्ट्र बैंक तथा अर्थमन्त्रालयले वार्ताकै माध्यमबाट निकास निकाल्नु पर्नेमा उनको जोड थियो ।