काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले साउदी अरबको मक्का-मदिनामा हजयात्रा गर्न जाने हजयात्रीलाई बिदाइ गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री खाणले शुक्रबार बिहान ११३ हजयात्रीलाई बिदाइ गरेका हुन् । यस वर्ष हजका लागि नेपाललाई छुट्टयाइएको ५५५ जनाको कोटामध्य शुक्रबार बिहान अन्तिम टोली हज गर्नका लागि त्यसतर्फ गएको हो । हजयात्रीलाई बिदाइ गर्दै गृहमन्त्री खाणले सरकारले सबै धर्मलाई सम्मान गर्ने बताए ।
उनले हज गर्न जाने परम्पराले विश्वभरमा नेपालको पहिचान गराउँदै भाइचाराको सम्बन्ध पनि बिस्तार हुने बताए । हजयात्रीलाई बिदाइ गर्न नेपाली काङ्ग्रेसका सह महामन्त्री महेन्द्र यादव, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ सहितको उपस्थिति थियो । असार ६ गतेदेखि दैनिक एयर अरेबियाको हवाइजहाजबाट एक टोली हज गर्न गइरहेको थियो । नेपालबाट हजयात्रामा जाने टोलीको साउदीमा जेब्दास्थित महावाणिज्यदूतावासले समन्वयको काम गर्छ ।
महावाणिज्यदूतावासबाट १० जनाको स्वयमसेवकको टोली हजयात्रीको व्यवस्थापनका लागि खटिएको छ । टोलीमा ८ जना डेलिकेट्स् र ३ जना मेडिकल सपोर्ट टीम सहभागी छ । हज यात्रा गरेर प्रत्येक टोली ३४ दिनपछि नेपाल फर्कनेछ । मुस्लिम समुदायको पवित्र तिर्थस्थलको रूपमा रहेको मक्कामदिनामा विश्वभरका लाखौँ मुस्लिम समुदाय हज गर्नका लागि जाने गर्दछन् ।