रवि लामिछाने र पुकार बम बीच भेट, स्वतन्त्र उम्मेदवार एकै पार्टीमा समाहित हुने वातावरणको खोजी ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र स्वतन्त्र उम्मेदवारी घोषणा गरेका पुकार बमबीच भेट भएको छ। शनिबार कलाकार निर्मल शर्माको समन्वयमा सभापति लामिछाने र बमबीच भेटघाट भएको हो। लामिछाने पूर्व पत्रकार हुन् भने बम विवेकशील नेपाली दल स्थापना गरेका संस्थापकमध्ये एक नेता हुन्। विवेकशील अभियान, युवाहरूको स्वतन्त्र उम्मेदवारी अभियान र लामिछानेले सुरू गरेको नयाँ पार्टीका बारेमा छलफल भएको बमले सामाजिक सञ्जालमार्फत् बताएका छन्।पुकार बमले काठमाडौंको क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने घोषणा गरेका छन्।

त्यसबारेमा पनि छलफल भएको उनले बताए। दुई नेताहरूबीच छलफल सकारात्मक भएको र सहकार्य समेत गर्दै जानेबारे छलफल भएको थियो। रविले चुनाव लड्न राष्ट्रिय स्वतन्त्र पार्टी खोलेको घोषणा गर्नु एक दिन अघि मात्रै उनका दाइ हरिशरणले पनि चुनाव उठ्ने घोषणा गरेका थिए। हरिशरणले स्वतन्त्र उम्मेदवारहरूको अलाइन्स बनाएर चुनाव लड्ने घोषणा गरेका थिए।

जसमा पुकार बम समेत सामेल भएका थिए। हरिशरण काठमाडौं-३ बाट, रन्जु दर्शना काठमाडौं-५, पुकार बम काठमाडौं-१ र सुमन सायमी काठमाडौं-८ बाट चुनाव लड्ने घोषणा गरेका थिए। बम इनफ इज इनफ अभियानका अभियन्ता समेत हुन्। उनले सरकारलाई कोरोनाको बेलामा जवाफदेही बन्न माग राख्दै ईस् सँग मिलेर १२ दिन सत्याग्रह गरेका थिए।