नेपाल माथिको प्रतिवन्ध फुकुवापछि आइसीसीको टोली काठमाडौंमा

काठमाडौं । नेपालमाथिको सबै प्रकारको प्रतिवन्ध फुकुवा गरेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)का प्रतिनिधि नेपाल आएका छन् । टोलीले शनिबार युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज भेटवार्ता गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बैठक कक्षमा भएको भेटमा राखेपका उपाध्यक्ष शिव कोईराला, राखेपका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, आईसीसी डेभलप्मेन्टका चेयरम्यान इमरान ख्वाजा, आईसीसी डेभलप्मेन्टका जेनरल म्यानेजर विलियम्स ग्लानराईट र आईसीसी फाइनान्स एन्ड ओपरेसन अफिसर नितिशा कोठारीको उपस्थित थिए ।

सो अवसरमा मन्त्री गहतराजले नेपाल सरकारले क्रिकेटको विकासमा ध्यान केन्द्रीत गरी क्रिकेट रंगशाला निर्माणमा लगानी गरेको बताउदै झापा, चितवन, लुम्बिनी, मूलपानीलगायतका स्थानमा पूर्वाधार निर्माणको कार्य अघि बढिरहेको अवगत गराउनुभयो । मन्त्री गहतराजले नेपालमा क्रिकेटले पनि फुटबल सरहनै लोकप्रियता हासिल गरेको बताउदै आईसीसीले नेपाली क्रिकेटको विकासमा गरेको लगानीका लागि धन्यवाद ज्ञापन गरे । सदस्यसचिव घिसिङले आईसीसी र परिषद्को दीर्घकालीन सम्बन्धको विकास गर्न क्रिकेट एकेडेमी र टेक्निकल हबको विकास र निर्माणमा सहकार्य गर्नुपर्नेमा जोड दिदै नेपाल अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न इच्छुक रहेकाले त्यसमा आईसीसीको सहयोग आवश्यक रहेको बताए ।

आईसीसी प्रतिनिधिले नेपालमा क्रिकेटको ठूलो सम्भावना रहेको बताउदै विद्यालयमा क्रिकेटको विकास गर्न सके सरकारको मात्र भर परिरहनु पर्ने अवस्थाको अन्त्य हुने धारणा राखे । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाली क्रिकेट विकास लागि सधै सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाएको छ । नेपाल भ्रमणमा रहेको आईसीसी प्रनिनिधि मण्डलले शनिबार सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा उक्त प्रतिबद्धता जनाएको हो । क्यानमा राजनीतिक हस्तक्षेप र आर्थिक पारदर्शिता कायम नभएको भन्दै आईसीसीले सन् २०१६ अप्रिलमा निलम्बन गरेको थियो ।

यसबीचमा नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा भने सहभागिता जनाउँदै आएको छ । २०७६ असोजमा सम्पन्न विशेष साधारण सभामार्फ चतुरबहादुर चन्दको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको थियो । त्यसपछि आईसीसीले क्यानमाथि लगाएको निलम्बन सर्त राख्दै फुकूवा गरेको थियो । आईसीसीले क्यानको आर्थिक गतिविधिमा नियन्त्रण गरेकाले आर्थिक मामिलामा आईसीसीको भर पर्नुपर्ने अवस्था नेपाली क्रिकेटमा थियो । अब भने आर्थिक गतिविधि सहितको सबै निलम्बन हटेको छ ।