पाटन अस्पताललाई तोकियो हैजा रोगको ‘डेडिकेटेड’ अस्पताल

काठमाडौं । पाटन अस्पताललाई हैजा रोगको उपचारका लागि ‘डेडिकेटेड’ अस्पताल तोकिएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले यस्तो निर्णय गरेको हो । ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायको संयोजकत्वमा आइतबार बसेको जिल्लास्थित सुरक्षा अधिकारी, स्थानीय तह, जनस्वास्थ्य अधिकृत, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, खानेपानी वितरक, ट्यांकर व्यवसायी, उपभोक्ता अधिकारवादी, व्यवसायीसहितको बैठकले हैजा रोग तथा यससँग मिल्दोजुल्दो लक्षणको उपचारमा पाटन अस्पताललाई डेडिकेटेड अस्पताल तोक्ने निर्णय गरेको हो ।

डेडिकेटेड तोकिएसँगै हैजा रोगका लागि पाटन अस्पतालमा छुट्टै हेल्थ डेस्क खडा गरी सोहीअनुसार उपचारको प्रबन्ध मिलाइने प्रशासनले जनाएको छ । प्रजिअ उपाध्यायका अनुसार ललितपुर जिल्ला र अरु ठाउबाट आउने हैजा रोगका बिरामी तथा यससँग मिल्दोजुल्दो लक्षण भएका सबैले अस्पतालबाट उपचार सेवा लिन सक्नेछन् ।