वैदेशिक रोजगारीमा ठगिएकालाई दिलाइयो २ करोड ४ लाख क्षतिपुर्ती

तनहुँ । सुरक्षित आप्रवासन (सामी) परियोजना तनहुँले वैदेशिक रोजगारीका क्रममा ठगिएकालाई दुई करोड चार लाख ६५ हजार क्षतिपूर्ति दिलाएको छ ।

आव २०७७/७८ मा वैदेशिक रोजगारीका क्रममा ठगी, जालसाजी तथा पासपोर्ट होल्डमा राखिएका घटनाका पीडितलाई सामीले उक्त क्षतिपूर्ति रकम दिलाउन सहजीकरण गरेको हो ।

वैदेशिक रोजगारमा गएका कामदार र उनीहरूका परिवारलाई कानुनी सहायताका लागि प्राप्त उजुरी एक सय पाँचमध्ये ५६ घटनाको पूर्ण रुपमा र ४९ वटाको आंशिक समाधान गरिएको परियोजनाले जनाएको छ । विसं २०७६ मङ्सिर १ गतेदेखि तनहुँमा सुरक्षित आप्रवासन सामी परियोजना सञ्चालन हुँदै आएको छ ।