टेक्सास । अमेरिकाको टेक्सास राज्यमा बेवारिसे अवस्था फेला परेको लरि भित्र मृत भेटिनेको सङ्ख्या ५० पुगेको छ । ह्वाइट हाउसले उक्त घटनालाई “भयानक र हृदयविदारक” भनेको छ। मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुअल लोपेज् अब्राडोरले उक्त घटना “तस्करी र त्यसको नियन्त्रणको कमीका कारण” भएको बताएका छन्।
टेक्सस राज्यस्थित सान एन्टोनियोको बाह्य भेगमा बेवारिसे अवस्थामा भेटिएको एउटा लरीमा ती शवहरू भेटिएका थिए। अमेरिका हुने मानव तस्करीसँग जोडिएको अनुमान गरिएको यो पछिल्लो सबैभन्दा खराब घटना भएको ठानिएको छ । शव भेटिएकामध्ये २२ जना मेक्सिकोका नागरिक भएको पुष्टि गरिएसँगै राष्ट्रपतिको यस्तो प्रतिक्रिया आएको हो। मृत्यु हुनेमा सातजना ग्वाटेमाला र दुईजना होन्डुरसका नागरिक भएको पुष्टि भएको छ। थप पीडितहरू कुन देशका थिए भनेर पत्ता लगाउने काम भइरहेको अधिकारीहरूले बताएका छन्।
आफ्नो दैनिक पत्रकार सम्मेलनमा बोल्दै अब्राडोरले उक्त घटनालाई “अत्यन्त दु:खद” भनेका छन्। उनले आफ्ना नागरिकहरूको शव स्वदेश ल्याउन काम गर्ने बताए।
अब्राडोरले भने, “हाम्रा मध्य अमेरिकी देशका दाजुभाइ र मेक्सिकनहरूको गरिबी र त्यसबाट निस्कने तीव्र चाहनाका कारणले भएको यो अर्को आप्रवासी मृत्युको घटना हो।”
उनले त्यसमा थप जोड दिँदै भने, “यो किन हुन्छ भने मानिसहरूको तस्करी भइरहेको छ र नियन्त्रणको कमी छ। यो मामिलामा मेक्सिको-अमेरिकी सीमाको कुरा हो तर त्यो अमेरिकाको भित्री भागमा पनि छ।”
उद्धारकार्यमा संलग्न एक अधिकारीका अनुसार चार बालबालिकासहित १६ जनालाई अस्पताल लगिएको छ।
लरीमा जीवित फेला परेका व्यक्तिहरूको शरीर छुँदा तातो थियो। गर्मीका कारण उनीहरूलाई थकान र ‘हीट स्ट्रोक’ भएको थियो।
सान एन्टोनियो अमेरिका-मेक्सिको सीमाभन्दा २५० किलोमिटर टाढा छ। मानवतस्करहरूले उक्त सहरलाई बाटोका रूपमा प्रयोग गर्दै आएका छन्। वैधानिक कागजपत्रबिनै अमेरिका प्रवेश गरिसकेका आप्रवासीहरूलाई तस्करहरूले दुर्गम भेगमा भेटेर उनीहरूलाई अन्यत्र लैजान लरी प्रयोग गर्छन्।
“उनीहरूका परिवार थिए… अनि सम्भवतः अझ राम्रो जीवनको खोजीमा थिए,” सान एन्टोनियोका नगरप्रमुख रोन निरेन्बर्गले भने।”यो एउटा भयानक, मानवीय वियोगभन्दा कम अरू केही हैन।”
एउटा शव फेला परेको सूचना पाएपछि आपत्कालीन सेवाका कर्मचारीहरू साँझ ६ बजेतिर घटनास्थलमा पुगेका थिए। सामाजिक सञ्जालमा प्रेषित तस्बिरहरूमा एउटा ठूलो ट्रकको वरिपरि आपत्कालीन सेवामा खटिने कैयौँ कर्मचारीहरूले घेरिएको देख्न सकिन्थ्यो।
केएसएट टेलिभिजन च्यानलका अनुसार उक्त ट्रक एउटा रेलको पटरीनजिकै फेला परेको थियो। द न्यूयोर्क टाइम्सका अनुसार सान एन्टोनियोका प्रहरीले घटनास्थलमा नरहेका सवारीचालकको खोजी गर्न थालेका थिए।
बिबिसी