शेखर कोइराला पक्षका कांग्रेस नेताहरुको भेला आज

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षधर नेताहरूको भेला आज बोलाइएको छ । बिहीबार दिउँसो २ बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बस्ने भेलामा सभापति शेर बहादुर देउवामाथि दवाव सिर्जना गर्ने रणनीति रहेको नेताहरुले बताएका छन् । पार्टीको आन्तरिक जीवन, समसामयिक राजनीति र देशको आर्थिक अवस्थाबारे छलफल गरी धारणा तय गरिने बताइएको छ । प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले पार्टी गतिविधि र सरकारका कामकारबाहीलाई सँगसँगै लैजान नसकेको भन्दै निष्कर्ष निकाल्दै उनीहरुले दवाव सिर्जना गर्न लागेका हुन् । सभापति देउवाले विधानअनुसार गठन गर्नुपर्ने विभाग तथा समितिहरूलाई पूर्णता दिएका छैनन्।

मंसिरमा कांग्रेसको १४ औं महाधिवेशन भएको थियो। विधानअनुसार छ महिनाभित्र कोषाध्यक्ष, केन्द्रीय समिति, कार्यसम्पादन, संसदीय समिति र विभाग गठन गरिनुपर्नेमा कुनै पनि कामलाई सभापति देउवाले पूर्णता दिन नसकेका हुन् । सभापति देउवाले निर्वाचित केन्द्रीय सदस्यमध्ये एक जनालाई कोषाध्यक्ष मनोनीत गर्नुपर्छ । ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्नुपर्नेमा देउवाले १३ जनालाई मात्रै मनोनीत गरेका छन्, उनीहरू सबै सभापति देउवानिकटका हुन्। कांग्रेस केन्द्रीय कार्यसमिति १६९ सदस्यीय हो। सभापतिमा देउवासँग पराजित कोइराला स्वत केन्द्रीय सदस्य छन्।