काठमाडौं र बैंककलाई जोड्यो थाइ स्माइलले

काठमाडौं । थाइल्याण्डको वायुसेवा कम्पनी थाइ स्माइल एयरवेजले बैंकक–काठमाडौं–बैंकक रुटमा उडान थालेको छ । यो रुटमा शुक्रबारदेखि दुई तर्फी हवाई सेवा सुरु भएको हो । कम्पनीका अनुसार अब दैनिक एक उडान यस रुटमा हुनेछ । कम्पनीले एयरबस–३२० मा इकोनोमी क्लासमा १५० र प्रिमियम इकोनोमी क्लासमा १२ सिट गरी जम्मा १६२ सिटको क्षमताको जहाज उडाएको छ । जसमा अन–बोर्ड मिल सर्भिस (विमानभित्रै खानाको सुविधा) समेत रहेको कम्पनीले जनाएको छ ।

थाइ स्माइलले थाइल्यान्डको फुकेट र पटाया लगायत अन्य सम्पूर्ण आन्तरिक विमानस्थलहरुमा उडान गर्दै आएको छ । थाइ एयरवेज इन्टरनेशनलले अष्ट्रेलिया, जापान र क्वालालम्पुरसहित अन्तर्राष्ट्रिय गन्तव्यमा सेवा दिइरहेको छ । आरआर ग्रुप अफ कम्पनिज अन्तर्गतको एक संस्था सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेसले थाइ स्माइल एयरवेजका लागि बिक्री, मार्केटिङ र एयरपोर्ट सञ्चालन सेवाको साथै सम्पूर्ण ग्राहक र एजेन्सी सपोर्ट सेवाहरू प्रदान गर्दै आइरहेको छ ।