विदेश जाँदा अरुका बच्चा साथमा लैजान अब सिफारिस अनिवार्य

Getty Images

काठमाडौं । विदेश जाँदा साथमा आफ्नो बाहेक अरु कसैका बालबालिका लैजाने हो भने अब सिफारिस अनिवार्य साथमा बोक्नु पर्ने भएको छ । नभए अध्यागमनले विमानस्थलबाटै रोक्ने छ । अध्यागमन विभागको त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालय एक सूचना प्रकाशित गरी यसरी बालबालिका लैजानेहरुका लागि प्रक्रियाबारे सूचित गरेको छ ।

बालबालिकाको कुनै आधिकारिक संरक्षकत्वबीना विदेश लगेर जाने विषय ज्यादै संवेदनशील भएको भन्दै कार्यालयले आफ्नो सन्तान बाहेक अरु कसैका नाबालक छोरा-छोरी साथमा लिएर विदेश जाँदा तोकिएको प्रक्रिया पूरा गर्न अनुरोध गरेको छ ।

अब छोराछारीबाहेक नाबालकलाई विदेश लैजाँदा नाबालकको अभिभावक-संरक्षक-संघ संस्थाले नाबालक स्थायी ठेगाना भएको सम्बन्धित स्थानीय तहको वडा कार्यालयमा मन्जुरीनामा दिइएको व्यक्ति र नाबालकको विवरण खोली विवरण दिनु पर्ने भएको छ । सम्बन्धित वडा कार्यालय वा स्थानीय तह वा प्रशासनले मन्जुरीनामा पाउने व्यक्तिको नाम र नावालक दुबैको फोटो समेत राखी अभिभावक भएको गन्तव्यस्थल खोली यात्रा सहजीकरणका लागि सिफारिस गरेको अवस्थामा मात्र अध्यागमनले यात्राको अनुमति दिने छ ।

यस्तो सिफारिस स्थानीय तह वा जिल्ला प्रशासन कार्यालयले गरेमा समेत मान्य हुने भएको छ । यस्तो सिफारिस गर्ने पदाधिकारीको नाम, पद र सम्पर्क नम्बर सिफारिस पत्रमा राख्नु पर्ने समेत सूचनामा उल्लेख छ ।