निजगढ पुगेर शीर्ष नेताले भने : कम वातावरणीय क्षतिमा विमानस्थल बन्छ

काठमाडौं । बाराको निजगढमा पुगेर शीर्ष नेताहरुले कुनै पनि हालतमा निजगढमा विमानस्थल बन्ने बताएका छन् । तर, यस क्रममा कम वातावरणीय क्षतिमा विमानस्थल बन्ने उनीहरुको भनाई छ । प्रधानमन्त्री शेरबहादुर देउवाले कम क्षतिमा निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सकिने बताए । उनले अहिले प्रस्तावित भएको ठाउँमै विमानस्थल बनाइने बताए । प्रधानमन्त्री देउवाले विमानस्थल निर्माणका लागि विज्ञसँग छलफल भइरहेको समेत बताए। उनले दुई वटा रनवे सहितको विमानस्थल बनाइने भन्दै कम क्षतिमा जसरी पनि विमानस्थल बन्ने बताएका हुन् ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अदालतको फैसलाले विमानस्थल निर्माणमा रोक नलगाएको बताए । उनले सर्वोच्च अदालतबाट विमानस्थल अवरूद्ध गर्ने कुनै आदेश नआएको स्पष्ट पार्दै विमानस्थल बनेरै छोड्ने बताए। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष मावधकुमार नेपालले पनि निजगढमै विमानस्थल बनाउने विषयमा सर्वोच्च अदालतको फैसलाले बाटो खुलेको बताए। शनिबार प्रधानमन्त्री देउवा सहित गठबन्धनका शीर्ष नेता जिगढ पुगेर स्थलगत अध्ययन गरेका हुन् ।