ओलीको आरोप : एमालेले सरकार छाडेपछि ४९ अर्बको चामल आयात भयो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालले सरकार छाडेपछि ४९ अर्ब रुपैयाँको चामल आयात भएको बताएका छन् । शनिबार अखिल नेपाल किसान महासंघले एमाले मूख्यालयमा आयोजना गरेको कार्यक्रममा ओलीले कृषि प्रधान देशमा यति धेरै चामल आयात हुनु अशोभनीय भएको उल्लेख गरे ।

‘हामीले सरकार छाडेपछिको मात्र हिसाब गर्दा ४९ अर्बको चामल आयात कसरी भयो ?’ उनको प्रश्न छ, ‘‘यस्तो उर्बर देशमा जहाँ यति हिमाली नदीनाला, उर्बर फाँटहरु छन्, जहाँको जनसंख्या ३ करोड भन्दा कम छ, त्यस्तो देशमा किन हामी खाद्यान्नमा आत्मनिर्भर हुन नसकेर ४९ अर्बको आयात गर्छौं, यो अशोभनीय स्थिति हो ।’

सरकारले उपयुक्त नीति नलिएका कारण कृषि क्षेत्र धरासायी हुँदै गएको उनको आरोप छ । सरकारले अझै पनि किसानका लागि मल ल्याउने प्रबन्ध गर्न नसकेको भन्दै उनले आलोचना गरे । उनले मल ल्याउन नसकेको भन्दै कृषि मन्त्रीले राजिनामा दिनु पर्ने बताए ।