राहदानी विभागको आग्रह-‘१० देखि १५ दिनमै जिल्लामा पासपोर्ट पुग्छ, अत्यावश्यकबाहेकका काठमाडौं धाउनुपर्दैन’

काठमाडौं । राहदानी विभागले १० देखि १५ दिनमै जिल्लामा राहदानी (पासपोर्ट) पुग्ने बताएको छ ।

राहदानी वितरण गर्दा ढिलाइ गरेको र सेवाग्राहीले दु:ख पाएको गुनासो बढेपछि एक सूचना जारी गर्दै विभागले जिल्ला प्रशासन कार्यालयहरुबाट आवेदन भएका राहदानीहरु प्रत्येक हप्ता प्रिन्ट गरी पठाउने व्यवस्था गरेको बताएको हो ।

पासपोर्ट बनाउन काठमाडौंमा भिडभाड बढेपछि अत्यावश्यकबाहेकका सेवाग्राहीलाई नआउन अनुरोध गरेको छ ।

‘सबै सेवाग्राहीहरु बिहान एकैपटक आउँदा विभागमा उल्लेख्य भीड हुने भएकोले काठमाडौं उपत्यकाभित्रका जिल्ला र काभ्रेमा आवेदन गर्नेहरुले १ हप्ता भित्रमा र अन्य जिल्लाको हकमा १० देखि १५ दिन भित्र राहदानी प्राप्त गर्ने सुनिश्चितता मिलाइएको विभागले सूचनामा भनेको छ ।

‘अत्यन्त जरुरी परेका सेवाग्राहीहरुले राहदानी विभागमा आवेदन गर्नुहुन र अन्य कम जरुरी हुनेले आफ्नो सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाटै सहज रुपमा राहदानी प्राप्त गर्न सकिने हुँदा सो सेवा लिनु हुन सेवाग्राहीमा अनुरोध गरेको छ ।’

विभागले राहदानी लिनेहरुको संख्या तीन महिनादेखि उल्लेख्य बढिरहेको जनाँदै सेवा प्रभावकारी बनाउन क्षमता अभिवृद्धिका साथै सबै जिल्ला प्रशासन कार्यालय र १७ वटा इलाका प्रशासन कार्यालयबाट समेत नियमित रुपमा राहदानी आवेदन गर्ने व्यवस्था मिलाइएको जनाएको छ।

विभागले विद्युतीय राहदानी प्रणालीमा समयसापेक्ष अद्यावधिक गर्नुका साथै अनलाइन प्रणालीको निरन्तर सुधार गरिरहेको पनि जनाएको छ।

सार्वजनिक विदाको दिनमा समेत सेवाग्राहीलाई सेवा दिएको विभागले जनाएको छ। ‘दैनिक विभागमा आवेदन दिनेको संख्या २४ सय रहेको छ। राहदानी तयार भएपछि लिन आउनेको संख्या र अन्य आपतकालीन कार्यका लागि दैनिक ५००० भन्दा बढी सेवाग्राहीलाई विभागले सेवा प्रदान गरिरहेको छ’, आरणले विज्ञप्तिमा भनेका छन्, ‘विभागले हाल दैनिक ६५ सय राहदानी उत्पादन गरी वितरणको व्यवस्था मिलाएको छ।’

विभागले सेवाग्राहीहरुको सहजताको लागि प्रत्येक दिन २४ सयजनाले अनलाइनबाट फाराम भर्न सक्ने र भरिसकेपछि १ देखि ४ दिनभित्र विभागमा राहदानी फाराम बुझाउन सक्ने जनाएको छ।