मुगुको रारा तालमा पहिलो पटक पुग्यो विजुली

RSS

मुगु । मुगुको रारा तालमा विजुली पुगेको छ । नेपाल विद्युत प्राधिकरणले मुगुमा २ हजार ९९० मिटर उचाईमा रहेको रारा ताल क्षेत्रमा विद्युत पुगेको जनाएको छ । प्राधिकरणले आफ्नो स्वामित्वमा मुगुमा रहेको ४ सय किलोवाट क्षमताको गमगाढ जलविद्युत गृहबाट उत्पादित विद्युत करिब २५ किलोमिटर प्रसारण लाइन निर्माण गरी पुर्‍याएको हो। सोमबारबाट रारा क्षेत्रका ग्राहकलाई विद्युत उपलब्ध गराएको प्राधिकरणले जानकारी दिएको छ। हाल त्यस क्षेत्रमा सौर्य ऊर्जाबाट घरायसी प्रयोजनमा मात्र विद्युत प्रयोग हुँदै आएको थियो।

अब जलविद्युत गृहबाट उत्पादित विद्युत २४सै घण्टा आपूर्ति हुने प्राधिकरणले जनाएको छ। रारा ताल परिसरमा सञ्चालनमा रहेका होटलहरू, कार्यालयहरू र छेउछाउका घरहरूले विद्युत पाएका छन्। रारा ताल परिसरमा २५ केभिए क्षमताको वितरण ट्रान्सफर्मर जडान गरी विद्युत आपूर्ति गरिएको छ। प्राधिकरणका प्रादेशिक कार्यालय कर्णालीका प्रमुख सम्भू कुसियत यादवले ट्रान्सफर्मर सोमबारबाट सञ्चालनमा ल्याइएको बताए। रारा राष्ट्रिय निकुञ्जको जंगलमा करिब १० किलोमिटर लाइन बनाएसँगै रारामा विजुली पुगेको हो ।