श्रीलंका चरम आर्थिक संकटमा, तेल भण्डारण रित्तियो

BBC

कोलम्बो । सात दशकमा सबैभन्दा चरम आर्थिक सङ्कट खेपिरहेको श्रीलङ्कामा इन्धनको भण्डार रित्तिने चेतावनी देशका ऊर्जामन्त्रीले दिएका छन्। नियमित माग पूरा गर्नेगरी वितरण गर्न हो भने श्रीलङ्कामा बाँकी भएको पेट्रोल एक दिनका लागि पनि नपुग्ने कञ्चन विजेशेकरले बताएका हुन्। अब दुई सातापछि मात्रा श्रीलङ्कामा थप पेट्रोल आइपुग्ने उनले आइतवार बताए। इन्धन, खाद्यपदार्थ र औषधि आयात गर्न पनि निकै गाह्रो परिरहेको बेला गत साता श्रीलङ्काले अत्यावश्यक सेवाका बाहेक अरू सवारीसाधनलाई डीजल र पेट्रोल बेच्न रोक लगाएको थियो। श्रीलङ्कामा केवल १२,७७४ टन डीजल र ४,०६१ टन पेट्रोल बाँकी भएको विजेशेकरले संवाददाताहरूलाई बताए।

पेट्रोलको अर्को खेप जुलाई २२ र २३ का बीचमा आउने अपेक्षा रहेको उनले जानकारी दिए । डीजल यही साताको अन्त्यतिर आइपुग्न सक्छ। यद्यपि विजेशेकरले इन्धन र कच्चा तेल आयात गर्ने योजनाका लागि पर्याप्त रकम नभएको चेतावनी उनले दिएका छन्। उनका अनुसार श्रीलङ्काको केन्द्रीय ब्याङ्कले इन्धन किन्न केवल १२.५ करोड डलर दिन सकेको छ। अहिले ल्याउन खोजिएको इन्धनका लागि ५८.७ करोड डलर तिर्नुपर्छ। यो वर्ष यसअघि विभिन्न सात आपूर्तिकर्तासँग किनेको तेलको ८० करोड डलर तिर्न अझै बाँकी भएको उनले बताए।

श्रीलङ्कामा आगामी सातासम्मका लागि निजी सवारीसाधनलाई तेल बेच्न विक्रेताहरूलाई रोक लगाइएको छ। सन् १९७० को दशकमा इन्धन आपूर्तिमा देखा परेको सङ्कटपछि तेल बेच्न रोक लगाउने श्रीलङ्का पहिलो देश भएको विज्ञहरू बताउँछन्। त्यतिबेला संयुक्त राज्य अमेरिका र युरोपमा इन्धन बेच्न कोटा लगाइएको थियो। श्रीलङ्का सन् १९४८ मा यूकेबाट स्वतन्त्र भएको थियो। स्वतन्त्रतापछि श्रीलङ्काले भोगेको यो सबैभन्दा नराम्रो आर्थिक सङ्कट हो। अत्यावश्यक सामग्री आयात गर्न पनि श्रीलङ्कासँग पर्याप्त विदेशी मुद्रा छैन। इन्धन, खाद्यान्न र औषधिको चरम अभावका कारण श्रीलङ्कामा महँगी ह्वात्तै बढेको छ। धेरै मानिसहरू आफ्नो जीविकोपार्जनका लागि कुनै न कुनै रूपमा सवारीसाधनमा भर पर्ने भएकाले उनीहरूको खर्च पनि बढेको छ।
बीबीसी