नेपाल र क्यानडाबीच एक दिवसीय सिरिजको पहिलो खेल आज

काठमाडौं । नेपाल र क्यानडाबीच एक दिवसीय सिरिजको पहिलो खेल आज हुुँदैछ । खेल क्यानडाको किङ्ग सिटीमा बेलुका पौने ९ बजे सुरु हुने तालिका छ । सन्दीप लामिछानेको कप्तानीमा नेपालले क्यानडासँग क्यानडासँग सिरिजमा दुई खेल खेल्दैछ । दोस्रो खेल बुधबार हुने छ । क्यानडाले साद बिन जाफरको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ । यसअघि क्यानडा पुगेको नेपाली टोलीले स्थानीय क्लब ओन्टारियोसँग दुई अभ्यास खेल खेलिसकेको छ ।

नेपालले टी–२० अभ्यास खेलमा ओन्टारियोलाई ५५ रन र एक दिवसीय अभ्यास खेलमा ६९ रनले हराएको थियो । क्यानडामा दुई एक दिवसीय खेलपछि नेपाल स्कटल्यान्ड जानेछ । नेपालले स्कटल्यान्डमा विश्व कप लिग–२ अन्तर्गत त्रिदेशीय एक दिवसीय श्रृङ्खला खेल्नेछ । नेपालले असार २७ र ३२ गते नामिबियासँग तथा असार २९ र साउन १ गते स्कटल्यान्डसँग खेल्ने तालिका रहेको छ ।