काठमाडौं । फ्रान्सेली चलचित्र ‘दिग्वी’को छायाङ्कन नेपालमा हुने निश्चित भएको छ । फ्रान्सेली भाषामै निर्माण हुने चलचित्रको छायाङ्कन काठमाडौं र सगरमाथा क्षेत्रको नाम्चे आसपासमा गरिने निर्माण पक्षले जानकारी गराएको छ । फिल्म छायाङ्कनका लागि उपयुक्त स्थानको खोजीमा नेपाल आएको निर्देशक एलन सिमोनसहितको टोलीले यसबारे जानकारी गराएको हो । नेपालमा ३५ दिनको छायाङ्कन तालिका राखिएको छ । चलचित्रमा केही नेपाली कलाकारसमेत रहने भएका छन् । रक ओपेरा सङ्गीतका चर्चित फ्रान्सेली सङ्गीतकार, निर्देशक तथा लेखकसमेत रहेका सिमोनले ९० प्रतिशत छायाङ्कन नेपाल र बाँकी फ्रान्समा गरिने जनाएका छन् ।
सन् २०१५ को महाभूकम्पको समयमा नेपालीलाई सघाउन उनले कन्सर्ट आयोजना गरेका थिए । सिमोनले त्यतिबेलादेखि नै नेपालमा फिल्म सुटिङको योजना बनाएको बताए । फिल्मले आध्यात्मिकता, सङ्गीत र जीवनको अर्थ खोज्दै युरोपबाट नेपाल आइपुग्ने एक यायावरको कथा बोक्ने बताइएको छ । पाभेल नामक मुख्य पात्र नेपालमा आउँदा एक सारङ्गी वादक बालकलाई भेटेपछि उसमा आउने परिवर्तन फिल्मको कथावस्तु हुनेछ । काठमाडौंका पर्यटकीय सम्पदा र पर्यटकीय स्थलमा छायाङ्कन हुने भएको छ ।