इटलीमा ७० वर्षयताकै भयानक खडेरी, संकटकाल घोषणा

romewise.com

काठमाडौं । इटलीले ७० वर्षयताकै सबैभन्दा खराब खडेरीको सामना गरिरहेको छ । त्यहाँको सरकारले पो नदी वरपरका पाँच उत्तरी क्षेत्रमा आपत्काल घोषणा गरेको छ। कोल्डिरेट्टी कृषि युनियनका अनुसार खडेरीले इटलीको ३० प्रतिशतभन्दा बढी कृषि उत्पादन नष्ट हुने खतरा भएको समेत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । एमिलिया(रोमान्या, फ्रियूली भेनेत्सा जोलिया, लोम्बार्डि, पिडमन्ट र भेनेटो क्षेत्रलाई पानीको अभाव सम्बोधन गर्न आपत्कालीन कोषमा तीन करोड ८० लाख डलर रकम दिइनेछ।

बीबीसीका अनुसार कतिपय नगरपालिकाले यसअघि नै नगरवासीले व्यक्तिगत रूपमा कति पिउने पानी पाउनेछन् भनेर मात्रा तोकिसकेका छन्। इटलीको सरकारले भनेको छ, ‘सङ्कटकालको उद्देश्य भनेको वर्तमान अवस्थालाई असाधारण साधन र शक्तिका साथ व्यवस्थापन गर्ने भन्ने हो।’ उसले स्थितिमा सुधार नभए थप कदम चाल्नसक्ने जनाएको छ। असामान्य रूपमा गर्मी मौसम र हिउँद तथा वसन्त ऋतुमा कम वर्षा हुँदा उत्तरी इटलीमा पानीको अभाव जटिल बनेको छ। त्यसले जलवायु परिवर्तनका प्रभावका डरलाई थप बढाएको छ।

प्रधानमन्त्री मारियो ड्रागीले आइतवार डोलोमिटस हिमनदीमा आएको भयानक पहिरो पनि निःसन्देह रूपमा जलवायु परिवर्तनसँग जोडिएको बताए। उक्त घटनामा सातजनाको मृत्यु भएको थियो भने १३ जना अझै बेपत्ता छन्। पो इटलीको सबैभन्दा लामो नदी हो। उक्त नदी ६५० किलोमिटर लामो छ र पूर्वतिर बग्छ। पो उपत्यकाका कृषकहरूले अहिले नुनिलो समुद्री पानी नदीमा पसेर आएको र त्यसले बाली नष्ट भएको बताएका छन्।