काठमाडौं । चन्द्रागिरि केवलकारमा आएको प्राविधिक समस्याका कारण बुधबार सयौं मानिस माथिल्लो स्टेशनमा रोकिएका छन् । बुधबार दिउँसो पौने २ बजेदेखि केबलकार बिग्रिएपछि चार सय जना मानिस डाँडामा अलपत्र परेको प्रहरीले जनाएको छ । साँझसम्म पनि मानिसहरुले केबलकार चल्ने आशमा कुरेका थिए । तर, चल्न नसकेपछि नेपाल प्रहरीले उनीहरुलाई उद्धार गरेको हो ।
टावर नं. ४ मा समस्या देखिएपछि दिउँसो पौने २ बजे राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिम्सिनासहित उनको परिवार पनि बीचमै अलपत्र परेको थियो । उनीहरुलाई उद्धार गर्न झण्डै आधा घन्टा लागेको थियो । तिम्सिना अलपत्र परेका बेला अन्य २८ केबलकार बीचमै रोकिएका थिए । त्यतिबेला १२० जनालाई तानेर उद्धार गरिएको थियो । गाडीमार्फत उनीहरुलाई तल्लो स्टेशनमा ओरालिएको छ ।