काठमाडौं । नेपाली बजारमा खाद्यवस्तु जस्तै गरी केही औषधि र भिटामिनजन्य औषधिको जथाभाबी बिक्री भइरहेको भन्दै औषधि व्यवस्था विभागले सचेत गराएको छ । शुक्रबार एक सूचना निकाल्दै विभागले यसरी बिक्री भइरहेका औषधि तथा भिटामिनले स्वास्थ्यमा असर पारिरहेको बताएको छ । विभागले ट्याबलेट, क्याप्सुल तथा झोलमा पाइने औषधि खाद्यवस्तु जस्तै गरी आयात र बिक्री भइरहेकाले प्रयोग नगर्न सचेत गराएको हो ।
विभागले यस्ता औषधिलाई प्रतिबन्धसमेत लगाएको जनाएको छ । जी ल्याब्रोटोरिज, भारतमा बनेको बायोदी ड्रप्स बालबालिकाका लागि प्रयोग गर्दा असर देखिएको सूचनामा उल्लेख छ । विभागका अनुसार यी औषधि नेपालमा दर्ता भएका छैनन् । यी र यस्ता अनुमति नपाएका र दर्ता नभएका औषधि र भिटामिन प्रयोग नगर्न समेत विभागले सचेत बनाएको छ ।
