श्रीलंकामा राष्ट्रपति निवासमा छिरे प्रदर्शनकारी, कहाँ छन् राष्ट्रपति ?

Photo courtesy Sri Lanka Brief

कोलम्बो । श्रीलङ्कामा राष्ट्रपति गोटाबय राजपक्षको निवासमा प्रदर्शनकारी छिरेका छन् । राष्ट्रपति राजपक्षलाई भने सुरक्षित ठाउँमा लगिएको छ । स्थानीय सञ्चारमाध्यमहरुका अनुसार यसअघि राजधानी कोलम्बोमा जम्मा भएको ठूलो भीडलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो। प्रदर्शनकारीहरूले राष्ट्रपतिको राजीनामा माग गरिरहेका छन्। देशका विभिन्न भागबाट प्रदर्शनमा भाग लिन सयौँ मानिसहरू कोलम्बो आएका थिए।

सरकारले कर्फ्यू लगाउने भने पनि पछि त्यसलाई फिर्ता लिएको थियो। दशकौँ यताको सबैभन्दा खराब आर्थिक सङ्कट सामना गरिरहेको श्रीलङ्कामा भएका यी ताजा प्रदर्शनहरू हुन्। हजारौँ प्रहरी र सैनिकहरू परिचालन गरिएका छन्। श्रीलङ्काले अहिले खाद्यान्न, इन्धन र औषधिको चरम अभावको सामना गरिरहेको छ। प्रहरी अवरोध पार गर्दै राष्ट्रपति गोटाबयको सरकारी निवासतर्फ प्रदर्शनकारीहरू अघि बढ्न खोजेपछि तनाव उत्पन्न भएको थियो।

केही प्रदर्शनकारीहरू राष्ट्रपति भवनको पर्खालमा चढेर भित्र प्रवेश गरेका थिए। प्रदर्शन भइरहेका क्षेत्रमा सैनिकहरू खटाइएका छन्। प्रहरीले भीड तितरबितर गर्न हावामा गोली चलाएको थियो। भिडिओ फूटेजहरूमा कैयौँ घाइतेहरूलाई अस्पताल लैजाँदै गरेको देखिन्छ। आर्थिक सङ्कट र इन्धन अभावका माझ राष्ट्रपति गोटाबय र प्रधानमन्त्री रनिल विक्रमसिङ्ग विरूद्धका प्रदर्शनहरू चर्कँदै गएका छन्।

सरकार विरुद्धको एउटा ठूलो प्रदर्शन शनिवारका लागि आह्वान गरिएको थियो। त्यसमा विपक्षी दलहरू, ट्रेड युनियनहरू, विद्यार्थी र कृषि सङ्गठनका प्रतिनिधिहरूले सहभागिता जनाउने बताएका थिए। शुक्रवारदेखि नै देशभरबाट कैयौँ विद्यार्थी सङ्गठनका प्रतिनिधिहरू कोलम्बो आएका थिए। शनिवार पनि ठूलो सङ्ख्यामा सवारी साधनहरू कोलम्बोमा प्रवेश गरेको देखिएको थियो।