चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख नेपालमा, यस्तो छ कार्यक्रम

BBC


काठमाडौं । नेपाली नेताहरूसँगको कुराकानीमा पलिटिकल पार्टीज् प्लस सहकार्यबारे चर्चा गर्दै आएका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ चियान छाओ राजनीतिक भेटवार्ताका लागि काठमाडौं आइपुगेका छन्। चार दिने नेपाल भ्रमणमा आएका लिउ गत महिना मात्रै चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय सम्पर्क विभाग प्रमुख भएका हुन्। यो विभागले चीनमा अन्तर–देशीय पार्टी कूटनीति हेर्दै आएको छ। सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको निमन्त्रणामा आएका भनिएका लिउलाई आइतवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न कांग्रेस र एमाले नेताहरू पुगेका थिए।

चीनमा भ्रष्ट्राचार विरोधी नेताको छवि बनाएका लिउ चीनका मन्त्रीस्तरका नेता हुन्। उनले आइतवारै प्रधानमन्त्री शेर बहादुर देउवासँग भेटवार्ता गरेका छन्। परराष्ट्र मन्त्री नारायण खड्कासँगको भेटपछि लिउले राष्ट्रपति विद्यादेवी भण्डारीसहित नेपालका मुख्य राजनीतिक दलका प्रमुखहरूसँग भेटवार्ता गर्ने योजना बनाएका छन्। उनले सोमवार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी नेताहरूसँग भेट गर्ने तय भएको छ । मङ्गलवार लिउले नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

लिउले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट्ने योजना बनाएको बताइएको छ । तर, राष्ट्रपतिको भेटबारे निश्चित भइसकेको छैन । लिउ नेपाल आउनुअघि पनि परराष्ट्र मन्त्री नारायण खड्कासहित एमाले र माओवादी नेताहरूसँग भर्चुअल संवाद गरेका थिए।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता, विभिन्न देशमा राजदूत र चिनियाँ भ्रष्टाचार निवारण सम्बन्धी निकायको प्रमुख रहिरहेका लिउले यसअघि नेपालका नेताहरूसँगको भेटमा राजनीतिक दलहरू सहितको सहकार्यबारे कुरा गरेका थिए । यसअघि नेताहरूसँगको कुराकानीमा लिउले चिनियाँ कम्युनिस्ट पार्टीले अनुभव आदान प्रदान र शासन प्रशासनबारे साझा सिकाइका साथै दुवै पक्षबीच अन्तर घुलन बढाउनेमा जोड दिएका थिए।