काठमाडौं । नेपालका विभिन्न कारागारमा अहिले तीन जना अमेरिकी नागरिक जेल जीवन काटिरहेको पाइएको छ । कारागार व्यवस्थापन विभागको तथ्याङ्क अनुसार नेपालमा सबैभन्दा धेरै भारतीय नागरिक जेलमा छन् । जेठ मसान्तसम्मको तथ्याङ्क अनुसार भारत र चीनदेखि अमेरिकी, युरोपेली तथा अफिक्री मुलुकसम्मका नागरिक नेपालको कारागारमा छन्। नेपालमा लागुऔषध ओसारपसारदेखि यौन दुराचार लगायतका मुद्दामा विदेशीले जेल सजाय काटिरहेका छन् ।
विदेशी कैदीबन्दीमध्ये अधिकांश लागुऔषध कारोबारसम्बन्धी मुद्दामा दोषी हुने गरेका छन्। जेठ मसान्तसम्म नेपाली कारागारमा विदेशी कैदीबन्दीको सङ्ख्या १,३३६ रहेको तथ्याङ्क छ। यसमध्ये १,१७५ जना भारतीय छन् । छिमेकी मुलुक चीनका २६ जना कैदीबन्दीले सजाय काटिरहेका छन्। भुटानका २२, पाकिस्तानका २१, बाङ्ग्लादेशका नौजना छन् भने अमेरिकाका तीनजना छन्। रुस, डेनमार्क, जर्मनी, यूके, सिङ्गापुर, फ्रान्स, नेदरल्यान्ड, थाइल्यान्ड, जापान लगायत देशका पनि नागरिकहरू अहिले कैदीबन्दीका रूपमा कारागारमा रहेका छन्।