काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ नोट साट्न सहज व्यवस्था गरेको छ । बैंकका अनूसार अब ग्राहकले नयाँ नोट साट्न केवल राष्ट्रबैंंककै कार्यालयमा लाइन लाग्न नपर्ने व्यवस्था गरेको हो ।
१० असोजबाट नयाँ नोट साट्न सकिने भएको छ । त्यसका लागि राष्ट्र बैंकबाहेक पनि विभिन्न बैंक तथा वित्तीय संस्थाबाट नयाँ नोट उपलब्ध हुनेछ ।
केन्द्रमा राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बालुवाटार र विराटनगर, जनकपुर, विरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयबाट नयाँ नोट उपलब्ध हुने भएको छ ।
राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकका उपत्यकामा विभिन्न कार्यालयले समेत नयाँ नोट साट्ने छन् । यी सरकारी बैंक हुन् ।
यस पटक पाँच, दश, २०, ५० र १०० दरका एक÷एक पकेट गरी प्रति व्यक्ति रु १८ हजार ५०० का दरले नयाँ सटही सुविधा दिइएको छ ।
सो रकमभन्दा बढी सटही सुविधा चाहिने नयाँ नभई सुकिला नोट उपलब्ध हुने भएका छन् ।
राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंकका सबै शाखा कार्यालयमा समेत नयाँ तथा सीमितमात्रामा नयाँ नोट सटही गर्न सकिने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
राष्ट्र बैंकले नोटलाई पुरानो हुने गरी टिका नलगाउन, पानीले नछुन र सफा राख्न समेत आग्रह गरेको छ । नयाँ नोट छपाईमा मात्र वर्षेनी ठूलो रकम खर्च हुने गरेको छ ।