काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रवर्द्धनका लागि कुटनीतिज्ञहरुको भुमिका महत्वपूर्ण हुने बताएका छन् । नवनियुक्त तथा प्रस्तावित विभिन्न देशका राजदुतहरुसँग मन्त्रालयले सोमबार गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले नेपालमा विदेशी पर्यटकको आगमन बढाउन कुटनीतिज्ञहरुको भुमिका महत्वपुर्ण हुने बताए । उनले विदेशस्थित सबै नियोग परिचालन गरेर नेपालमा विदेशी पर्यटकको आगमन बढाउन सकिने बताए ।
सबैको पहलमा विदेशी पर्यटक भित्र्याउन सके महामारीबाट थलिएको पर्यटन क्षेत्रले गति लिने विश्वास उनको छ । राजदुतावास, स्थायी नियोग, महावाणिज्य दुतावास तथा अवैतनिक बाणिज्य दुतावासहरुले पर्यटक आकर्षित गर्ने खालका कार्यक्रम ल्याउनुपर्नेमा उनले जोड दिए । राजदुतहरुले व्यापार, लगानी , पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तारमा भुमिका खेल्नुपर्ने उनको भनाइ छ ।
नेपालको हवाई उडानलाई ईयूको ‘सुरक्षा चासो’को सूचीबाट हटाउन पहल गर्ने उनले बताए । उनले छिमेकी मुलुक भारतलाई नयाँ हवाई प्रवेश बिन्दु खुला गरिदिन आग्रह गरिएको जानकारी गराए ।