बलियो स्कटल्याण्डमाथि नेपालको रवाफिलो जित

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु क्रिकेटमा नेपालले घरेलु टोली स्कटल्याण्डमाथि रवाफिलो जित निकालेको छ । ग्लास्कोमा १४५ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको नेपालले २५.१ ओभरमा ५ विकेट गुमाएर भेट्टाउन सफल भयो । स्कटल्याण्ड नेपाल भन्दा बलियो टीम हो । यसअघि लिस्ट ए क्रिकेटमा समेत नेपालले यो टीमलाई हराउन सकेको थिएन । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा स्कटल्याण्डमाथि यो नेपालको पहिलो कीर्तिमानी जित हो ।

बलरहरुको उत्कृष्ट प्रदर्शन र आसिफ शेखको ब्याटिङले नेपालको जितको आधार बन्यो । शेखले उत्कृष्ट ब्याटिङ गर्दै ७१ रन बनाए । आसिफले पहिलो विकेटका लागि कुशल भुर्तेलसँग ४७ रनको साझेदारी गरे । यस्तै दोस्रो विकेटका लागि देव खनालसँग ३० तथा तेस्रो विकेटका लागि रोहित पौडेलसँग ४८ रनको साझेदारी गरे । कुशल भुर्तेलले २७ बलमा २७ रन बनाए । देव खनाल ४ रनमा आउट भए ।

उपकप्तान रोहित पौडेलले अविजित ३४ रन जोडे । उनले ३१ बल खेल्दै चार चौका प्रहार गरे । स्कटल्याण्डका गेभिन मेइनले ३ विकेट लिए । यसअघि सोमपाल कामी र आदिल आलामले उत्कृष्ट बलिङ गरेपछि नेपालले स्कटल्याण्डलाई १४४ रनमा अलआउट गरेको थियो ।