श्रीलङ्काबाट भागेका राष्ट्रपति राजपक्ष कहाँ जालान्, सिंगापुर वा दुबई

कोलम्बो । श्रीलङ्काका राष्ट्रपति गोटाबय राजपक्ष अहिले माल्दिभ्समा छन् । तर, उनी त्यहाँबाट समेत तेस्रो मुलुक जाने तयारीमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आर्थिक सङ्कटलाई लिएर भइरहेको व्यापक प्रदर्शनका बीच उनी भागेर माल्दिभ्स पुगेका हुन् । त्यहाँबाट उनी सिङ्गापुर वा दुबई जाने तयारीमा रहेको बताइएको छ । स्थानीय समय अनुसार बुधवार बिहान तीन बजे उनी माल्दिभ्सको राजधानी माले पुगेका थिए । राजापक्ष श्रीमती र दुईजना अङ्गरक्षकलाई आफूसँगै लिएर एउटा सैन्य जहाजमा माल्दिभ्स पुगेको समाचार संस्था एएफपीले लेखेको छ ।

राष्ट्रपति हुँदा अभियोगहरूबाट उन्मुक्ति पाएका राजापक्ष नयाँ सरकार बनेपछि हुनसक्ने गिरफ्तारीबाट बच्न माल्दिभ्स भागेको अनुमान गरिएको बीबीसीको भनाई छ । उनले देश छाडेपछि प्रधानमन्त्री रनिल विक्रमसिङ्घ देशको कार्यवाहक राष्ट्रपति नियुक्त भएको संसद्का सभामुखले बताएका छन्। गत शनिवार प्रदर्शनकारीले उनको कार्यालय र घर कब्जा गरेपछि राजापक्ष लुकेर बसेका थिए। उनले बुधवारै राजीनामा दिने प्रतिबद्धता जनाएका थिए।

यद्यपि हालसम्म उनको राजीनामा आइसकेको छैन। यसअघि सभामुखले राजापक्षले आफ्नो राजीनामापत्र आज हस्तान्तरण गर्ने योजना बनाएको बताएका थिए। उनको राजीनामाले विगत दुई दशकदेखि श्रीलङ्काको राजनीतिमा प्रभुत्व जमाउँदै आएको राजपक्ष परिवारको शासनको अन्त्य हुनेछ। उनका भाइ पूर्व अर्थमन्त्री बसिल राजापक्ष पनि श्रीलङ्काबाट भागेका छन्।