गहुँ, चिनीजस्ता वस्तुको नेपाल निर्यातमा रोक नलगाएको भारतको स्पष्टीकरण

काठमाडौं । भारतले गहुँ, चिनी लगायत केही वस्तुहरूमा लगाएको निर्यात प्रतिबन्ध नेपालको हकमा लागू नहुने स्पष्ट पारेको छ । नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिसँगको भेटवार्ताका क्रममा नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले यस्तो जानकारी गराएका हुन् । महासंघ सचिवालयमा भएको औपचारिक भेटवार्तामा राजदूत श्रीवास्तवले नेपालको पनि आर्थिक विकास हुनुुपर्ने पक्षमा भारत रहेको बताए । भेटवार्तामा महासंघका अध्यक्ष शेखर गोल्छाले अत्यावश्यक वस्तुुहरूको निर्यातमा भारतले लगाएको प्रतिबन्धले नेपालका उद्योगहरूलाई समस्या उत्पन्न हुन थालेको बताएका थिए ।

तर राजदूत श्रीवास्तवले प्रतिबन्ध नेपाललाई नहुने बताउँदै दुवै देश ज्वाइन्ट भेन्चर जसरी नै काम गर्न चाहेको बताएका थिए । गोल्छाले नेपालमा लगानी विस्तार, व्यापारिक नाकाहरूको पूर्वधार विकास, प्रयोगशालाहरूको स्तरीकरण तथा थप ल्याबहरूको विस्तार, गैर भन्सार अवरोधहरूका विषयलाई बैठकमा मुख्य रूपमा उठाएका थिए । त्यस्तै भारतसँगको व्यापार घाटा नेपालका लागि चिन्ताको विषय भएकाले यसलाई कम गर्ने कार्यमा भारतीय सहयोग अपरिहार्य रहेको बताए । लामो समयदेखि मिरगन्ज पुल बन्न नसकेकोतर्फ ध्यानाकर्षण गराउँदै उनले निर्माणका लागि आग्रह गरे ।

नेपालमा भारतीय संयूक्त लगानी विस्तार, मुख्य नाकासम्म रेलमार्गको विस्तार, प्रयोगशालाको अभावमा कृषिजन्य उत्पादनहरूको निर्यातमा हुने गरेको ढिलाइलाई भारत सरकारले सम्बोधन गर्नुपर्ने सुझाव दिइएको छ । गैर भन्सार अवरोधका कारण मुख्यतया कृषिजन्य उत्पादन र जडिबुटी निर्यातमा समस्या देखिएको छ । ‘सडक, रेल, हवाई र डिजिटल कनेक्टिभिटिमा देखापरेका समस्याहरूको समाधान गर्दै नेपालको अर्थतन्त्रलाई मजबुत बनाउन भारत सरकार तयार छु सो क्रममा राजदूत श्रीवास्तवले भने, ‘भारत सरकारले रक्सौलमा अन्तर्राष्ट्रियस्तको ल्याब स्थापना गरेको छ, काठमाडौंमा रहेको ल्याबलाई भारतमा एक महिनाभित्रै मान्यता दिने गरी काम भैरहेको छ ।’

अर्को ल्याब उपयुक्त स्थानमा बनाउन आफूले नेपालका वाणिज्य मन्त्रीसमक्ष अनुुरोध गरेको पनि उनले बताए । महासंघका उपाध्यक्षहरू दिनेश श्रेष्ठ, रामचन्द्र संघई, कार्यकारिणी समितिका सदस्यहरू, विभिन्न संघका अध्यक्षहरू, महासंघका महानिर्देशक समेतको भेटवार्तामा उपस्थिति थियो ।